Nepal News

एक लाख ३६ हजार पशुलाई खोप: बागलुङमा अभियान तीव्र

बागलुङका ६ स्थानीय तहमा एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्ध खोप लगाइँदै छ।

बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चरनक्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो। ढोरपाटन र गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकाका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो। छ स्थानीय तहका कुकुरलाई समेत खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा.. ऋषिराम सापकोटाले बताए। उनका अनुसार १७ हजार ३६५ गाई, २७ हजार ५२ भैँसी र ८३० बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ। खोरेत रोगका कारण पशुको मुखभित्र, खुट्टा र स्तनमा फोका आउने तथा दूध उत्पादन घट्दा कृषकलानी हानि भएको छ। आर्थिक क्षतिको रोकथाम गर्दै पशुको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा दूध, मासु र प्रजनन क्षमतामा समेत वृद्धि गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको प्रमुख डा.. सापकोटाले बताए। खोप लगाउँदा पशुको शरीरमा एन्टिबडी बन्ने भएकाले खोरेत भाइरसविरुद्ध प्रतिरोध हुने, विभिन्न जोखिम कम गर्ने, किसानलाई नोक्सानीबाट बचाउने र उत्पादनमा समेत वृद्धि हुने उनको भनाइ छ। त्यसैगरी ६९ हजार ४८४ बाख्रा र १३ हजार ३७९ भेडालाई पिपिआर खोप लगाइएको प्रमुख डा.. सापकोटाले बताए। घातक रोगबाट बचाएर पशुपालनमा हुन सक्ने आर्थिक नोक्सानीलाई रोक्न ढोरपाटन र निसीखोलाका चरन क्षेत्रमै पुगेर खोप लगाइएको छ। खोप लगाएपछि भेडाबाख्रामा उच्च ज्वरो, आँखा र नाकबाट पानी झर्ने, मुखभित्र घाउ र दादुरा, खाना खान नसक्ने, पखाला र निमोनिया तथा विभिन्न कारणले हुन सक्ने मृत्युको दरसमेत घट्ने प्रमुख डा.. सापकोटाले बताए। पश्चिम बागलुङका घरपालुवा र सामुदायिक गरेर सात हजार ७७४ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ। रेविजविरुद्धको खोप कुकुरलाई लगाए पनि यसबाट मानिसलाई समेत घातक रोगबाट बचाउने उद्देश्यका साथ खोप लगाइँदै आएको छ। कुकुरलाई लगाइने यो खोपले कुकुरको रेविज रोक्ने, मानिस र समाजलाई समेत सुरक्षित राख्न मद्दत गर्दछ। त्यसैगरी ८९७ बङ्गुरलाई अत्यन्तै सङ्क्रामक रोग नियन्त्रणका लागि लगाइने सिएसएफ खोप लगाइएको छ। चौबीस महिला र २५ पुरुष खोपकर्ता खटाएर कृषकका घरदैलोमै पुगेर खोप अभियान चलाइएको प्रमुख डा.. सापकोटाले बताए। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका ६ स्थानीय तहमा खोप अभियान सम्पन्न गरेर दोस्रो चरणको अभियान बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा यही वैशाख १ गतेदेखि सञ्चालन गरिएको उनले बताए। वैशाख मसान्तसम्ममा अभियान सञ्चालन भइरहेका बाँकी चार स्थानीय तहका सबै पशुलाई खोप लगाइने छ। सो कार्यका लागि ३५ प्राविधिक वडावडामा खटिएका छन्।

Secret Link