पर्यटकवाहक सवारीसाधनको दर्ता अब अनलाइनबाटै
नेपाल भित्रिने विदेशी पर्यटकले अब आफ्नो सवारीसाधनको दर्ता र भन्सार शुल्क अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन्।
सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा.. स्वर्णिम वाग्लेले शुभारम्भ गरे। नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन्। यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो। साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो। तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन्। नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा.. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए। ‘सरकारले अनुसरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री डा.. वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस्। सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौं।’ नयाँ प्रणाली सुरुआत गर्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब ‘डिजिटल’ भएको बताए।