Nepal News

सुकुम्वासी बस्तीको कथा: टहरो र डोजरको द्वन्द्व

बाग्मती किनारको सुकुम्वासी बस्तीमा डोजर चलेपछि त्यहाँका बासिन्दाको मन कसरी भत्कियो र उनीहरूको पीडा के छ भन्ने विषयमा आधारित मार्मिक लेख।

ढल बगिरहेको बाग्मती नदीको टहरोमा नदीसंगै उडेर आउँथ्यो बाग्मती ढलको गन्ध जून नदी वर्षौदेखि ढल मिसिएर बगेको छ मलाई त्यही गन्ध सुघ्रदै निदाउने बानी परेको छ , बानी परेपछि गन्ध सुगन्ध बन्दोरहेछ सरकार । बस्तीमै आइपुग्छन सडकवाट मोटरका हल्लाहरु, हर रात यही नदी किनारमै कुर्लिन्छन स्यालहरु वर्षौदेखि अभ्यस्त बनेकी थिएँ हल्लाहरुसंग हरेक हिउँदमा टहरावाट छिर्ने शीतको थोपाहरु मलाई विहानीपखको घडी बनेर ब्युँझाउन आउँथे बानी परेपछि हल्लाहरु त संगीत बन्दा रहेछन । मेरो टहरा पारी जंगलमा निदाईरहेका चरालाई मेरो बस्तीको कथा थाहा छ । कसम मलाई यो सुकुम्वासी वस्तीको काख मेरी आमाको काख जस्तै प्रिय लाग्छ । जसरी चरालाई युएन पार्कभित्रको बनाएको गुँड उति नै प्यारो लाग्छ ।। जहाँ एक बथान बचेरीहरु हुर्काएका हुन मैले पनि टहरामै दुइ सन्तान हुर्काएकी हुँ । पसिनाको बुँद–बुँद सिन्चेर यो सहरमा हजारौ गाग्री पसिना बगाएर मैले आफ्नै हातले टहरो बनाएकी हुँ । टहरो बनेको दिनदेखि मैले यो भूगोलमा जमिनको मालिक बनेको अनुभूति गरेकी हुँ । हजुरले टहरो कुरुप देख्नुभयो कति लथालिंग पो देख्नु भयो । सहरी सौन्दर्यको नाममा यो बस्तीमा पटक–पटक डोजर चलाउनु भयो । टहरोको खाँतिर डोजरसँगै ज्यानको बाजी थापेर जुधेँ कति पटक प्रहरीको लाठी खाएँ । तैपनि मलाई टहरो छोड्नै सकिन लाठीको चोट भन्दा पीडादायी त आफ्नो टहरो भत्किंदा हुँदोरहेछ ।। आफ्नै पसिनाले बनेपछि टहरको मूल्य हजुरको महल जस्तै महङ्गो लाग्दो रहेछ ।। हजुर पनि पसिना बगाएर टहरो बनाउनुहोस त्यही टहरोमा एक जुग निदाउनुहोस । त्यसपछि थाहा पाउनु हुन्छ टहरोको मूल्य कति महंगो हुन्छ ?. मैले बाँचिरहेको सुकुम्वासी वस्ती खास थियो हामी वीच कुनै बर्गको पर्खाल थिएन हाम्रा साझा भोगाइहरु समानताका अनुभूति थिए जून अनुभूति सहरका मान्छेहरु वीच कहिल्यै थिएन सवेरै हुल बाँधेर मजदुरी गर्न निस्कनु बालुवा र इट्टाको भारीमा पसिना बगाउनु साँझ दाल–भात जुटाएर भोक मेट्दा जिन्दगीको सवै रहर पुगे झै लाग्थ्यो । फेरी सवेरै अरुको मजुदुरीमै निस्कनु घर फर्किनु र समसाँझै निदाउनु हाम्रो बस्तीमा रीत बनेको थियो । रीत बिग्रियो भने नमिठो लाग्दो रहेछ । अँस्ति झरी–झरीमा सरकारको डोजर चलेपछि मेरो जिन्दगी जस्तै उजाड बनेको छ थापाथली नदी किनारको सुकुमवासी वस्ती म जस्तै मौन चित्कारमा बगेको छ बाग्मती नदीको मन्द सुस्केराहरु सकुम्वासी वस्तीको गन्ध सुगन्ध लागेपछि मलाई यो पृथ्वी सुरक्षित लागेको हो , त्यसपछि त म सुकुम्वासी बनेकी हुँ । मलाई सुकुम्वासी टहराको जस्तो बलियो यो भूगोलमा कुनै अर्को पे्रम लाग्दैन । सुकुम्वासी वस्ती डोजरले भत्काएपछि नै मेरो मन भत्केको छ । मन भत्किएपछि दिएको चौरासी व्यन्जनले मनको भोक कहिल्यै नमेटिने रहेछ । मन भत्केपछि अपार्टमेन्टको पलङमा पनि आँखाहरु निदाउनै नसक्दा रहेछन । सरकार यो भूगोल हाम्रो पनि हो शहरभन्दा पहिला हामी जन्मेका हौ मान्छेभन्दा ठूलो सहर हुन्छ र सरकार ?. हामीलाई मार्न डोजर नपठाउनु है ।

सुकुम्वासी बस्ती, बाग्मती, डोजर, टहरो, सहर, विस्थापन, पीडा

Secret Link